जेटीए बनेपछि गर्व गर्छिन् तारा

निता गुरुङ्ग/नेपालगन्ज ः बांकेको बेलभार गाविस वडा नं. ५ स्थित भैयापुरकी तारा बिसी अहिले जेटीए भएकी छन् । उनलाई सबैले जेटीए भनेर बोलाउंदा उनि गर्व महसुुस गर्छिन् । उनलाई गाउं घरका सबैले पशु डाक्टर भनेर बोलाउंछन् र गाउं पुग्ने बित्तिकै उनको घरमा औषधी सोध्नेहरुको घुईचो नै लाग्छ ।
गाउं घरमा कसैको पनि जनावर बिरामी भएमा वा अरु कुनै समस्या परेमा सबै सोझै ताराकै घरमा पुग्छन् । उनलाई गाउंमा रहंदासम्म बिरामी जनावर हेर्ने भ्याईनभ्याई हुन्छ । 
केही बर्षपहिले पढाई अघि बढाउन पाउने समते ताराले सोचेकी थिईनन् । एसएलसी पास गरेर उनि घरमा थन्किएकी थिईन् । त्यसैबेला प्लान नेपालको सहयोगमा स्याक नेपालले गाउंमा किशोरी शिक्षाका कक्षाहरु सुरु गरेको थियो । ताराले त्यसलाई राम्रो अवसर ठानिन र सहभागी भईन् । अहिले उनलाई त्यही निर्णयले आफ्नो भाग्य खोलेजस्तो लाग्छ । ’cause, उनले प्लान जर्मनको सुनौलो भविष्य तथा शैक्षिक सहयोग -बीएलईएसएस) कार्यक्रमबाट पन्ध्र महिने भेटनरी जेटिए तालिम लिने मौका पाइन् र जेटीए बनिन् । 

अहिले उनले जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सक डा.पुष्पराज श्रेष्ठको नेपालगन्जस्थित नीजि भेटनरी क्लिनिकमा काम पाएकी छन् । प्रयोगात्मक अभ्यासका लागि जिल्ला पशु कार्यालय पुगेकी उनको लगनशीलताबाट प्रभावित भएर श्रेष्ठले आफ्नो क्लिनिकमा उनलाई नियुक्त गरेका हुन् । डा श्रेष्ठ ताराको प्रशंसा गर्दै भन्छन्- अभ्यासमा आएकाहरुमध्ये उनी उत्कृष्ट थिईन् । ताराले जेटीए तालिम गरेपछि अहिले उनको परिवार मात्र हैन, गाउघरवासी र नातेदारसमेत खुशी छन् । गाउंका तालिम र बैठकमा धेरैले ताराको उदाहरण दिएर किशोरीहरुलाई उत्साहित गर्ने गरेका छन् । बिदाको दिन उनी आफ्नो गाउं जान्छिन् । ‘घर जांदा औषधी सोध्न आउनेको भिडै लाग्छ’-उनले भनिन् । ताराको गाउं र ’roundका अधिकांश बासिन्दाको मुख्य पेसा पशुपालन र कृषि हो । त्यसैले धेरैले उनलाई गाउंमै एग्रोभेट खोल्न सल्लाह पनि दिएका छन् । सो क्षेत्रकी उनी एक्ली जेटिए हुन् । 

ताराको भेटनरी जेटिए अन्तिम परिक्षाको रिजल्ट आउन अझै दुई महिना लाग्नेछ । तर, उनले अहिल्यै ‘जेटिए’को उपाधि पाईसकेकी छन् । उनी अहिले भावी योजना पनि बुन्दैछिन् । अवसर पाए भेटनरीमै आईएस्सी/ बीएस्सी गर्ने उनको इच्छा छ । तत्काल भने ताराका अघिल्तिर तीन विकल्प छन् । पहिलो- उनी लोकसेवा आयोगको परिक्षा उत्तिर्ण गरेर सरकारी जागिरे हुनसक्छिन् । दोस्रो- गैरसरकारी संघ-संस्थामा जागिर खाने हुनसक्छ । भेटनरी क्लिनिकमा जागिर खाने वा आफै एग्रोभेट खोल्ने उनका लागि तेस्रो विकल्प हुनसक्छ । तर, उनको पहिलो रोजाई सरकारी जागिर हो । तारा हांस्दै भन्छिन्-‘सरकारी जागिर पाए अरु विकल्प खोज्दिन ।’ 

तारा औसत विपन्न परिवारमध्येकी छोरी हुन् जस्ले एसएलसी पास भएपछि पढाई टुंगिएको ठान्छन् । उच्च शिक्षा पढन घरको आर्थिक अवस्थाले दिदैन । न त, रोजगारीका लागि कतै पहंुच हुन्छ । क्याम्पस भर्ना गरिदिन आग्रह गर्दा उनकी आमाले भन्ने गरेको शब्द अहिले पनि उनको मुखमै छ,-‘तलाई मात्र पढाएर हुन्छ ? दुईटा बहिनीलाई पढाउन बाुकी नै छ । पैंसा छैन, त्यसैले तेरो पढाई अब पुग्यो ।’ उनको गाउँमा एसएलसी पास गर्नुलाई विवाहका लागि उपयुक्त योग्यता मानिन्थ्यो । त्यसैले उनकी आमा पढाउन हैन, छोरीको विवाह गराउन हतारिईरहेकी थिईन् । 

ताराका संगिनीहरु क्याम्पस र प्लस टु भर्ना भए । तर, उनको दैनिकी घरधन्दा र गाई-गोठालोमै एक बर्ष बितेको स्मरण गर्छिन् उनि । ‘संगैका साथीहरु क्याम्पस गएको देख्दा नरमाइलो लाग्थ्यो’ उनी दुई बर्षअघिका दिनहरु सम्भिन्छिन्-पढ्ने इच्छा भए पनि कुनै उपाय थिएन । गाउंमा उनको परिवारको १० कठ्ठा ऐलानी जग्गा छ । रोजगारी खोज्न भारत गएका उनका बुवा दानसिंह १० बर्षदेखि बेपत्ता छन् । आमाले मजदुरी गरेर घरखर्च चलाउथिन् त्यसैले त्यो बेला बिहेका लागि आउने उमेर नमिल्ने थुप्रै प्रस्तावहरु ताराले अस्वीकार गर्नुपर्‍यो । सामाजिक तथा आर्थिक कारणले विद्यालय छोड्न बाध्य भएका उनीजस्तै बाकेका आठ किशोरीहरुले सामुदायिक स्वास्थ्य सहायक तथा पशु सहायक सम्बन्धी व्यवसायिक तालिम पाएका छन् । 

मलाई सबैले बिर्से जस्तो छ, हास्रुन

अथक प्रयासपछि श्रीमानको नाममा नागरिकता पाएपछि

‘संघसंस्थाहरुको सहयोगले गर्दा आज म तपाईहरुको माँझमा यसरी कुरा गर्न सक्ने भएको छु । नत्र मेरो श्रीमान र उसको घरपरिवारले त मलाई जिउँदै जलाएर मार्ने प्रयास गरेको थियो ।’ ढाई वर्ष अगाडी घरेलु हिंसामा परेकी हास्रुन ईदि्रसिले आफ्नो बेदना यसरी पोखिन् ।
‘संघसंस्थाको अथक प्रयासपछि आज म बाँच्न त सफल भए तर अब अगाडीको जीवन कसरी बिताउने
मेरो अगाडी ठूलो प्रश्न चिन्ह खडा भएको छ’ ईदि्रसिले थपिन-‘मेरो दुईवटा नाबालक बच्चा छन् उनीहरुको भविष्य के हुने हो मेरो लागि चिन्ताको विषय भएको छ ।’
४ वर्षका छोरा र ३ वर्षकी छोरीको शिक्षाको विषयलाई लिएर एकदमै चिन्तित देखिएकी ईदि्रसिले फातिमा फाउण्डेसनको सहयोगले माईती परसपुर-७ मा नै एउटा सानो किराना पसल खोलेर बसेकी छन ।  तर त्यो सानो पसलको आम्दानीले उनले दुई बच्चालाई राम्रो शिक्षा दिन नसकिएको जनाउँदै छोराछोरीको भविष्यप्रति सार्‍है चिन्तित छन् ।
आफ्नो आर्थिक अवस्था नाजुक भएकोले ईदि्रसिको चाहना छ, संघसंस्थाले जसरी उनलाई मृत्युको गहिराईबाट बाहिर ल्याउन मद्दत गरेको थियो ठीक त्यसरी नै अब एक पटक बच्चाहरुको भविष्यको लागि  पहल गरिदिए हुने थियो ।
उपचारको लागि सहयोग पाए पनि भविष्य त अझैपनि अन्धकारमय नै रहेको बताउँदै उनले विभिन्न संघसंस्थाले सहयोग गर्छु गर्छु भनेको तर सहयोग अझैसम्म नपाएको पनि गुनासो पोखेकी छन् ।
विगतका दिनहरुमा उनलाई संघसंस्थाले घरमा नै आएर सहयोग गरेको स्मरण गर्दै  तर आज सबैले बिर्से जस्तो अनुभव पनि उनलाई हुन थालेको छ । ईदि्रसिले निरास मुद्रामा आफ्नो भनाई राख्दै भनिन्-‘घरेलु हिंसामा परेर आज म शारीरिक र आर्थिक रुपमा कमजोर भएको छु । अब त मलाई सबैले बिर्सदैं गएका छन् जस्तो छ, मलाई अब दिर्घकालिन सहयोगको खाँचो छ ।’
माईतीको आश्रयमा बस्दै आएकी ईदि्रसिलाई नागरिकता नभएको हुँदा सहयोग हुन गार्‍हो भएको बताईएपछि उनले जेनतेन गरेर नागरिकता पनि बनाईन, तर सहयोग भने कतैबाट नपाएको उनको गुनासो छ । उनले भनिन्-‘अब त मसँग नागरिकता पनि छ, तर खोई त सहयोग ?’ आफु जस्तै पीडितहरुको लागि भनेर सहयोग त आउँछ तर आफूले भने सहयोग नपाउने गरेको ईदि्रसिको भनाई छ ।
श्रीमानको नाउँबाट नागरिकता पाउँदाको अनुभव सुनाउँदै ईदि्रसि भन्छिन-‘श्रीमानको नाउँबाट नागरिकता लिन खोज्दा मैले धेरै समस्याको सामना गर्नु पर्‍या,े त्यसमा मलाई साथी संस्था र जिल्ला प्रशासन कार्यालयबाट सहयोग नभएको भए सायद आज मसँग नागरिकता हुँदैनथियो ।’
केही समयपछि श्रीमान र सासु जेलबाट निस्कदै छन् उनीहरु जेलबाट निस्केर आफूलाई केही गर्ने पो हो कि भन्ने अर्को ठूलो चिन्ता छ उनलाई । अहिले उनी आफ्नो र छोराछोरीको सुरक्षाको चिन्तामा सबै भन्दा बढी समय बिताउँछिन् । उनले भनिन-‘मेरो अहिलेको मुख्य चिन्ताको विषय उनीहरु जेलबाट बाहिर आएपछि र मेरो अवस्था यस्तै नै रही रहने हो भने उनीहरुले मलाई जे पनि गर्न सक्छन् ।’
भनेको जति दाईजो नल्याएको भन्दै २०६४ कार्त्तिक २० गते ईदि्रसिलाई उनको आफ्नै श्रीमान र घरपरिवारले मट्टतिेल हालेर जिउँदै जलाई दिएको थियो । ईदि्रसीलाई जिउँदै जलाउने प्रयास गर्ने उनका श्रीमान वसिम अहमद ईदि्रसिलाई ७ वर्षको जेल र सासु रुकसाना ईदि्रसिलाई ५ वर्षको जेल सजाय भएको छ ।